२६ बैशाख, हेटौंडा

(9 May 2021)

बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्ये नजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको हो । मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन । मन्त्री बस्नेतले भनिन्, प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो, त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं । मन्त्रालयले मेसिन खरिदलगायतका आवश्यक प्रक्रिया शुरु गरेको छ ।

यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब छ । केही दिन अघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ । अब प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको लागि लाग्ने रकमको इष्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने र सो प्राप्त भएपछि स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा लेखि पठाउने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here