झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीती संग्रह सुनिल बिमोचन भएको छ । टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडियो निर्देशक भूषण दाहालले सुनिलको बिमोचन गरेका हुन् ।

पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा टेलिभिजनकर्मी भूषण दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको भएको बताए । “प्रविधिले साथ नदिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन् ।” सञ्चारकर्मी दाहालले भने, “सुनिलमा संग्रहीत कतिपय रेकर्ड नभएका गीत अत्याधिक सरल र कालजयी हुने गीतहरु छन् ।”

कार्यक्रमका विशिष्ठ अतिथी तथा फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यमवर्गिय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताए । “सर्जकले देशप्रेम र प्रेमका बिषयमा चर्चा गरे ।” पण्डितले थोरै आलोचनात्मक हुँदै भने, “आगामी दिनमा लेखकबाट समाजको अँध्यारो पाटो, अफ्ठेरो परिस्थिती र समस्या ग्रस्त जीवनलाई कसरी समाधान दिने भन्ने विषयमा समाजलाई नै धक्का दिनेगरी गीत आउने आशा गरेको छु ।”

लामो समय पत्रकारिता क्षेत्रमा सम्लग्न रहनुभएका कार्यक्रमका अर्का अतिथि सुशिल अर्यालले सुनिल पहिल्यैदेखि सृजनशील भएकोले लामो समयदेखि स्थिर रहेको साहित्यिक यात्रा अब सुरु भएको भन्दै यो यात्रामा निरन्तर दौडन आग्रह गरे ।

म सृजनशील मान्छे मनपराउँछु
मलाई सक्रिय मान्छे पनि औधी मनपर्छ
पत्रकारितामा सृजनशीलता र साहित्यमा सरलताको
अभ्यास गर्दै म सबैमा सुनिल बन्न चाहान्छु ।

पुस्तकको भूमिकामा यी पंक्ती बाहेक केही लेख्न नचाहानुभएका सुनिल कोइरालाले आफ्नो साहित्य यात्राका विषयमा बताउँदै पुस्तक प्रकाशनमा अग्रज कबि स्व. रत्न शमसेर थापा, राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ्ग, गीतकार कृष्णहरी बराल, गायक योगेश बैद्यका साथै थुप्रै अग्रज र अनुजहरुबाट सउत्प्रेरणा प्राप्त गरी पुस्तक प्रकाशन संभव भएको बताए । “मलाई यहाँसम्म आउन धेरैको उत्प्रेरणा छ र आजको यो क्षणले मलाई निरन्तर कलम चलाउन थप उत्प्रेरित गरेको, गीतकार कोइरालाको भनाई छ ।

९९ गीतहरुको संग्रह रहेको गीति संग्रह स्कुल अफ लिडर्स प्रा.लि.ले प्रकाशन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here