अनिल पराजुली
कतार
रोजगारीका लागि कतार आएका नेपाली श्रमिकहरु संग दूतावासले श्रमिक सुरक्षा एवं सचेतनामूलक अन्तक्रिया गरेको छ । नेपाली राजदूतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तक्रिया कार्यक्रममा श्रमिकहरुको हक हित र सुरक्षा बारे छलफल भएको हो ।
कतारको दोहा स्थित अल डल्ला कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३० जना नेपाली महिला श्रमिक संग श्रमिक सुरक्षा बारे छलफल गरिएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा कतार आउनु अघि र आए पश्चात यहाँको कानुन अनु्सार गर्न हुने र गर्न नहुने कामहरुको बारेमा दूतावासले श्रमिक महिलाहरुलाई जानकारी दिएको थियो ।


कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले विभिन्न पेशा, व्यवसायमा आवद्ध भएर कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूले स्थानीय संस्कृति, धर्म र प्रचलित कानूनमा रहेर काम गर्न आग्रह गरेका थिए । उनले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई कतार सकारले कोभिड–१९ को संक्रमण रोक्न कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कताका अपनाउन समेत आग्रह गरेका छन् । उनले सबैले थप सजग र सुरक्षित हुनुपर्ने विषयलाई समेत जोड दिए ।


राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेमा समेत श्रमिकहरुलाई जानकारी दिइएको थियो भने दूतावासले यस विषयमा सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिएको थियो ।


सचेतना कार्यक्रममको उदेश्यबारे द्वितीय सचिव भुवन भट्ट, श्रमसँग सम्वन्धित बिषयमा श्रम काउन्सेलर कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धी सेवाको वारेमा द्वितीय सचिव श्रृचा भट्टराईले श्रमिक महिलाहरुलाई जानकारी दिएका थिए ।


द्वितीय सचिव प्रवीण भट्टराईले संचालन गरेको कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासाहरूको नियोग उपप्रमुख लक्ष्मण खनालले जबाफ दिएका थिए । कार्यक्रममा राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here