नेपाल आज नेपालमा मात्र छैन । नेपाल आज विश्वभरि फैलिसकेको छ । कतारमा कतारी जनसङ्ख्याभन्दा बढी नेपाली छन् । यस्तो लाग्छ– कतारमा सिङ्गो नेपाल छ, जात छ, धर्म छ, सम्प्रदाय छ, चाडबाड छ, लिङ्ग र वर्ण पनि छ । सानो तर सम्पूर्ण नेपाल कतारमा छ । श्रमिक छन् । दक्ष श्रमशक्ति छन् । व्यवसायी छन् । कामदार छन् । घरेलु कामदार छन् । उद्यमी छन् । उद्योगी छन् । आयातकर्ता छन् । निर्यातकर्ता छन् । साझेदार छन् । सहकर्मी छन् । साहू छन् । बिचौलिया छन् । नेता छन् । अभिनेता छन् । लेखक छन् । पत्रकार छन् । कवि छन् । कलाकार छन् । साहित्यकार छन् । मजरामा नेपाली छन् । भेडीगोठमा नेपाली छन् । यहाँ पार्टीका वर्गीय सङ्गठनहरुमात्र छैनन् मेचीदेखि महाकालीसम्मका छुट्टाछुट्टै आवाज समेटिएका विभिन्न नेपाली समूहहरु छन् ।

भलो गर्ने नेपाली छन् । कुभलो गर्ने पनि नेपाली नै छन् । दिदीबहिनी छन् । दाजुभाइ छन् । त्यहीँ गएर विवाह गर्ने नेपाली पनि छन् । कथाव्यथा नेपालीका धेरै छन् यो कतारमा । त्यसैले लाग्छ– नेपाल कतारमै छ ।

नेपालीहरु हरेक व्यवसायमा छन् । सहरमा छन् । गाउँमा छन् । बन्दीगृहमा छन् । जहाँतहीँ छन् नेपाली । कतारमा बनेका सबैजसो भवनमा र कतारको बालुवाको कण–कणमा नेपाली पसिना मिसिएको छ ।

कतारमा सायदै कुनै यस्तो भवन वा सडक होला जसमा नेपाली श्रमिकको पसिना नपोखिएको होस् । मानाँै हरेक ढुङ्गामा नेपाली पौरखी र परिश्रमी हात परेको छ । त्यसैले लाग्छ– कतारमा एउटा सानो नेपाल छ।

कतार पुगेका पुराना दुई नेपाली भेटिएका थिए । उनीहरु भन्थे, “जब हामी पहिलोपटक दोहा आएका थियौँ, तब यहाँ इन्डियन पैसा चल्थ्यो ।”
मैले तीमध्ये एकजनालाई सोधेँ, “तपाईं किन यहाँ आउनुभएको थियो ?”

“म एउटा अरबीको घरमा काम गर्न आएको थिएँ ।”

उनले कतार प्रवेशको स्मरण गर्दै अतीतका पाना पल्टाउन थाले । ती अरबीको एउटा सानो कम्पनी रहेछ जहाँ दस–पन्ध्रजना काम गर्दा रहेछन् । केही समयपछि त्यहाँ काम गर्ने कामदारहरुमध्ये उनी सबैभन्दा पुराना भएछन् । त्यसपछि उनलाई उक्त कम्पनीमा काम गर्ने सबै कर्मचारीहरुको रेखदेख गर्ने जिम्मा दिइएको रहेछ । उनीबाटै थाहा पाइयो कि सन् १९७० को दशकमा पहिलोपटक लमजुङका एक नेपाली भारतबाट पानीजहाजमा बहराइन हुँदै कतार पुगेका रहेछन् ।

“मैले ४–५ जना नेपालीलाई दोहामा भेटेँ । कहिलेकाहीँ शुक्रबार हाम्रो भेटघाट हुन्थ्यो ।”, उनले भने ।

मैले मनमा सुलसुले बनिरहेको प्रश्नको निवारणको आशामा सोधेँ, “त्यतिबेलाको कतार कस्तो थियो ?”

“यहाँ यत्रा बिल्डिङ थिएनन्, गाउँजस्तो थियो । मलाई सुरmमा आउँदा काठमाडौँ ठूलो लाग्थ्यो, दोहा सानो ।”, उनले सुनाए ।
त्यतिबेलाको दोहामा सानासाना झोपडी र दलिन निकालेका घर थिए रे । अरब मुलुकका अन्य कामदारहरु पनि सामान्य काम गर्थे रे । अरब मुलुकका अन्य नागरिक र इरानीहरु ठेलागाडामा सामान बोक्थे रे । भनिन्छ– दोहाको पहिलो रेस्टुरेन्ट ‘बिस्मिल्लाह’ हो । अहिले पनि त्यो त्यहाँको पर्यटकीय बजार सुकुवाकफमा रहेको छ । आप्रवासीले इरानी मार्केट भनेर चिन्ने सुकुवाकफ कतारकै नमुना व्यापारिक स्थलको रुपमा रहको छ । किनभने त्यहाँ काम गर्ने अधिकांश कामदार इरानी थिए । सुकुवाकफमा अहिले पनि त्यो ‘बिस्मिल्लाह रेस्टुरेन्ट’ छ । जब त्यो पहिलो रेस्टुरेन्ट कतारमा खुल्यो, अरबीहरु यहाँ मीठोमीठो खान पाइन्छ भनेर हेर्न आउँथे रे । अनि केही सामान किनेर फटाफट खान्थे र १० रियाल तिरेर भागिहाल्थे रे । जबकि उनीहरुले ५ रियालको पनि खाएको हुँदैनथे रे । तर धेरै खाए धेरै पैसा तिर्नुपर्छ भनेर १० रुपैयाँ फालेर भागिहाल्ने गर्थे रे ।

यस्तो ‘रे’ को कथा सुनाउने ती नेपाली कहाँ छन् थाहा छैन । तर आज पनि तीमध्ये केही कमर्ठ हातहरु कतार बनाउन पसिना बगाइरहेका छन् । उनीहरुले भनेको कुरा मेरो दिमागमा अहिले अक्षर बनेर उत्रिरहेको छ ।

कहिलेकाहीँ लाग्छ, म नेपालमै छु । नेपाली भाषा नेपालीपन कतारको एयरपोर्टदेखि नै सुर हुन्छ । यो मरभूमिमा एक नेपाली अरु नेपालीसँग मस्त नेपाली भाषामा कुरा गर्न पाउँदा म आनन्दित हुन्छु । नेपालीमै नेपालीलाई बोलाउँदा, मेरो देशको टोपी लगाएर म सानले हिँड्दा र नेपाली खाना खाँदा म कतारमा छु झैँ नै लाग्दैन । फेरि अध्यागमन भिसाले मात्र ए यो कतार हो है जस्तो लाग्छ ।

स्वतन्त्रताको त्यो समय सन् २००७ बाट सुरm भएको पासपोर्ट बनाउने गति प्रजातन्त्रको पुनस्र्थापनापछि चितुवा झैँ कुद्न थाल्यो । मध्यपूर्वी मलेसिया, मकाओमात्र नभएर मौरिसस र अफ्रिकाको मोगावोलगायतका देशमा पनि प्रशस्त नेपाली छन् । दक्षिण अफ्रिकादेखि अमेरिकासम्म, चिलीदेखि चीनसम्म, संसारका धेरै देश र महादेशहरुमा नेपालीले ‘मिनी नेपाल’ निर्माण गरेका छन् । अष्ट्रेलियामा नेपाल महोत्सव हुन्छ । बेलायतमा पशुपतिनाथको मन्दिरमा मेला लाग्छ । जापान, हङकङ र चीनमा नेपाली साङ्गीतिक साँझले सप्ताहान्त नेपालीपनका महफिल सिर्जना गरिरहेका हुन्छन् । अमेरिकाको नासादेखि गुगल र फेसबुकसम्मका हटकेक अनुसन्धान र प्रविधिका अफिसमा पनि नेपाली युवाको दिमागी कौशलको तरङ्ग देखिन्छ । मध्यपूर्वको कतारमा पनि नेपालीको तथ्याङ्क दिनानुदिन थपिँदै गएको छ ।

सन् २००७ को तथ्याङ्कका अनुसार कतारको कुल जनसङ्ख्यामा १६ प्रतिशत नेपाली छन् । तथ्याङ्कअनुसार कतारमा कतारी नागरिकको सङ्ख्या तीन लाख र केही हजारमात्रै छ । कतारीभन्दा भारतीय नागरिक ३४ प्रतिशत बढी छन् । त्यसपछिको ठूलो सङ्ख्या नेपालीहरुकै हो । अरबी वा गैर–कतारीको सङ्ख्या १३ प्रतिशत र फिलिपिञनोको सङ्ख्या ११ प्रतिशत छ । श्रीलङ्काली र बङ्गाली क्रमशः ५÷५ प्रतिशत छन् भने ४ प्रतिशत पाकिस्तानी छन् । कतारमा यीबाहेक अन्य देशका नागरिक १२ प्रतिशत छन् ।

कतारमा रहेका अधिकांश नेपालीले सामान्य जीवनयापन गर्छन् । आर्थिक समस्याका कारण जन्मभूमि र आफन्तबाट छुट्टिएर सात समुद्रपारिको आँगनमा बाध्यतावश पुगेका नेपालीको जीवनयापन सामान्यदेखि असामान्यसम्म छ ।

प्रचण्ड गर्मीमा जोखिमपूर्ण काम गरी परिवारको लालनपालन, शिक्षादीक्षा एवम् अन्य व्यवहारिक दायित्व बोकेर कतारी भूमि पसेको हुँदा अधिकांश नेपालीको जीवनमा तडकभडकको सामान्य छनक पनि पाइँदैन । निरन्तरको काम र आकर्षक आम्दानी नभएकाले विलासी जीवन स्वैरकल्पनामात्र हुन पुग्छ । कतारका अधिकांश नेपालीको जीवनशैली सादगीपूर्ण छ ।

समस्यालाई हाँसोले जित्ने नेपाली पारा मरभूमिमा पनि प्रस्ट देखिन्छ । सामान्य जीवनशैली र कडा परिश्रमबीच एक चिम्टी मुस्कानले आफ्नो मौलिक परिचय बाँड्न खप्पिस नेपालीहरु कतारमा शोभा छरिरहेका हुन्छन् ।

कतारमा केही उच्च र मध्यम स्तरका नेपाली छन् । तीमध्ये कोही व्यवसायमा छन् त कोही राम्रो कम्पनीको आकर्षक पदमा जागिरे छन् । केही नेपाली दोहामा आफ्ना परिवारसहित बस्दै आएका छन् । पूरै परिवारसहित बस्ने नेपालीमध्ये अधिकांश व्यवसायमा सङ्लग्न छन् । तीमध्ये केही नेपालीको जीवनशैली हाईफाई पनि छ । कतारमा सम्पन्न वर्गका लागि सुखपूर्ण जीवन व्यतीत गर्ने अनुकूल वातावरण छ ।

‘चमत्कारी समृद्धि’ हासिल गरेको कतारमा सम्पन्न वर्गका लागि युरोप र अमेरिकाभन्दा कम सुविधा छैन । त्यस्तो जीवन जिउने नेपालीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

बढीजसो नेपाली कामदार अदक्ष हुन्छन् । कतारमा सबैभन्दा ठूलो रोजगारीको अवसर निर्माण क्षेत्रमै छ । त्यसकारण अधिकांश नेपाली निर्माण क्षेत्रका कम्पनीमा कार्यरत छन् । सबै गल्ली तथा कुनाकानीहरुमा नेपाली छन् । कतारमा नेपाली नपुगेको ठाउँ सायदै होला । स–साना चिया पसलदेखि ठूला सपिङ सेन्टरसम्म नेपालीमै बोले पनि फरक पर्दैन । कसै न कसैले त जवाफ फर्काइ नै हाल्छ । कोही न कोही नेपाली त हुन्छन् नै ।

कतारका प्रवासी नेपालीको जीवन दिनप्रतिदिन सरल र खुकुलो बन्दै गइरहेको छ । कतारमा नेपालीपन झल्किने पोसाकमात्रै छैनन्, नेपाली स्वादले पनि आफ्नो बजार विस्तार गर्दैछ । कतारी भूमिमा नेपाली मौलिक परिकारको स्वाद पस्कने नेपाली रेस्टुरेन्ट दिनदिनै बढिरहेका छन् । कतारी मरmभूमिमा नेपाली ढिँडो भेटिन थालेको छ । नेपाली बाँसको तामाको अचार, गुन्द्रुक र भटमासको स्वाद कतारी थालमा चाख्न पाइन्छ । नेवारी खाजा सेट, सेलरोटी र मम पनि लोकल परिकारको मेनुमा अँटिसक्यो । कतारमा यस विषयमा धेरै नेपाली लेखहरु पढ्न पनि पाइन्छ ।
जुमारात (शुक्रबारको अघिल्लो बिहीबारे रात) कतारको रमाइलो रात हो । बिदाको अघिल्लो दिनको साँझ ढल्दै जाँदा रमाइलो बढ्दै जान्छ । श्रमका लागि शुक्रबार निक्लन नपर्ने भएकाले बिहीबारको रात रमाइलो मानिन्छ । अधिकांश नेपाली बिहीबार साँझदेखि नै आफन्तजन वा साथीभाइ भेला भई मीठो–मसिनो खान र सुख–दुःख बिसाउन यो रातलाई महङ्खवका साथ उपयोग गर्ने गर्दछन् । शुक्रबारको दिन सरकारी बिदा हुन्छ जसका कारण अधिकांश कम्पनी बन्द नै हुन्छन् । कुनै चाडपर्वभन्दा कम हुँदैन, मैले देखेको कतारमा जुमारात ।

विगतमा अलपत्र परेकाहरुको उद्धारको प्रारम्भ यस्तै ठाउँहरुबाट हुने गर्दथ्यो । मालिकको सेवामा दिनरात लखतरान भएका मनहरु शुक्रबार पिँजडाबाट फुत्किएकी मैना झैँ उन्मुक्त भएर स्वतन्त्ररुपमा हिँडिरहेका हुन्छन् । एकाध चलेका कम्पनीले आधा दिनमात्रै काम गराउँछन् । भोलिपल्ट सबेरै ड्युटीमा जान नपर्ने भएकाले धेरै टाढाटाढासम्म आफन्तको अपनत्वको खोजी गर्दै नेपालीहरु क्याम्पक्याम्पमा भाैतारिन्छन् । हप्ताको एकदिनको यो बिदाले पनि नेपालीलाई रमाइलो गराइरहेको छ । अब त अधिकांशको जम्मा हुने स्थान बनेको छ दोहाको पश्चिमी क्षेत्रमा रहेको अल दौसरी पार्क जहाँ भाषणदेखि नृत्य अनि मनोरञ्जनका धेरै कुरा देख्न र सुन्न पाइन्छ ।

कतारको कानुनमा जुवा, तास, रक्सी आदि दण्डनीय मानिन्छ । कानुनलाई छल्दै लुकीछिपी रमाउने केही नेपाली पनि छन् । क्षणिक आनन्दमा रमाउने कानुनका विपरीत यस्ता कार्य गर्नाले केही नेपालीले हवालातको हावासमेत खाइरहेका छन् । कतिपय नेपालीले क्षणिक आनन्दका लागि बन्देज लगाइएका घातक पेयपदार्थ पनि पिउने गर्छन् । घरमा सरसफाइका लागि प्रयोग गरिने पदार्थ नशाका लागि कतिपय नेपालीले पिउने गर्छन् । कतारमा यस्ता पदार्थहरु लुमा, खजुरबोटे तथा श्रीलङ्के नामले प्रख्यात छन् । यतिमात्र होइन, कतारका केही स्थानमा खडखडे खेल्ने र खेलाउनेहरु आज पनि महिनाभरिको पसिनाको कमाइ एकै छाक पारिरहेका हुन्छन् ।

तत्कालीन अवस्थामा बिसमिल्लाहमा हुने गतिविधीः व्यवसायी पशुपति चौधरीको नेपाल पुस्तक पसलमा नेपालबाट झिकाइएका सत्यकथा, तथ्यकथा जस्ता साप्ताहिक पत्रिका किन्नेहरुको भीड हुन्थ्यो ।

महिनाभरि श्रम गरेर कमाएको रियाललाई नेपाली रुपैयाँमा गन्दै वरिपरि रहेका सिटी एक्सचेन्ज, लारी एक्सचेन्जलगायतका कम्पनीबाट नेपालमा आफन्तलाई खर्च पठाउनेहरुको लाम पनि देखिन्थ्यो । उतिबेलाको चौरमा विशेष गरी आ–आफ्नो टोल, गाउँ र जिल्लाका साथीहरु जम्मा हुन्थे र एकआपसमा सामाजिक सङ्घ–संस्था खोल्ने, कसैलाई समस्या पर्दा सबै मिली सहयोग गर्ने र गफगाफ गर्ने गर्थे । गफगाफ सकिएपछि नेपाली रेस्टुरेन्टमा नास्ता गरेर अर्काे शुक्रबारसम्मका लागि बिदाइका हातहरु हल्लाउँदै छुट्टिने गर्दथे ।

नेपालमा छँदा कहिल्यै नदेखिएका र नभेटिएका धेरै टाढाटाढाका नेपाली कतारमा सहजै भेटिन्छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका, पश्चिमको दार्चुलादेखि पूर्वको पाँचथरसम्मका सबै नेपाली कतारी भूमिमा बाँचिरहेका छन् । यहाँ बस्ने सबै नेपाली हुन् । पहाडिया, मधेसी, मुस्लिम, थारू, जनजाति, ब्राह्मण, क्षेत्री, दलित भनेर कुनै भेदभाव गरिँदैन । ठूलो र सानो भनेर विभाजनको रेखा कोरिँदैन । सम्बन्ध छ त केवल प्रवासीको आत्मीय चोखो सम्बन्धमात्र । तर पनि कहिलेकाहीँ फेरि उही नेपालमै हुँदाको पारामा सबै बेग्लाबेग्लै पनि देखिन्छन् ।

कतारमा बढ्दो नेपालीको सङ्ख्यासँगै उनीहरुको आफ्नै जिल्ला, गाउँ वा क्षेत्रको समाज पनि बन्दै गएको छ । दोहामा नेपाली समाजमात्रै १५० भन्दा बढी छन् । त्यस्तो समाजबाट प्रत्येक हप्ता कुनै न कुनै कार्यक्रमको आयोजना हुन्छ, जसले गर्दा एक नेपालीको अर्को नेपालीसँग भेटघाटको अवसर सिर्जना हुन्छ । प्रवासी जीवनका दुःख बिसाउने चौतारी र सुख बाँड्ने यिनै सामाजिक सङ्घ–संस्था हुन् । यहीँ उनीहरु मनभरिको दुःखको पोको फुकाउँछन् र गह्रौँ मनलाई हलुको बनाएर जान्छन् । गाउँघर, मेलापात र रोदीका कुरादेखि देशको समसामयिक राजनीतिक कुरासमेत हुने गर्छन् मैले देखेको कतारमा ।

सन् २०१२ भन्दा पहिले कतारमा कार्यरत नेपाली शुक्रबार नेपाली ढाकाटोपी ढल्काएर हतारिँदै कार्यक्रममा पुगिरहेका देखिन्थे । कतारका विभिन्न चोकमा नेपालीको बाक्लिँदो उपस्थितिले गर्दा सबैलाई थेग्नै नसक्ने भएका थिए, सीमित नेपाली चोक । ‘नेपाली चोक’ भनेर कहलिएको बिस्मिल्लाह मेटिएपछि नेपाली बिस्मिल्लाहको झझल्को मेटाउन तरबार गेट, कार्वा बसपार्कपछाडि, सनैयाको अल अति®या, मुन्तजा पार्क आदिलाई भेटघाटका लागि नेपाली चोक बनाएका छन् ।

दोहा प्रवेशको बखतमा शुक्रबार यातायातको ज्यादै समस्या हुने गर्दथ्यो । सार्वजनिक यातायात कार्वाले मात्र लाखौँ यात्रुलाई सेवा दिन सक्ने अवस्था थिएन । त्यसैले पनि दोहाबाट विकट भनिने शमाल, दुख्खान, शाहानिया जुमेलिया, अल खोर र मिसाइदलगायतका ठाउँबाट बिरलै नेपाली दोहाका चोकमा मेला भर्न आउँथे । नेपाली चोकमा नेपाली गीतका सिडी, नेपाली फिल्म, पुराना नेपाली पत्रपत्रिका किनेर आफ्ना साथीसङ्गीसँग मनको पीरको भारी बिसाउने गरेको इतिहास छ मैले देखेको कतारमा । नेपाली चोक भनेर चिनिने यस्ता स्थानमा अलपत्र परेका नेपालीदेखि आफ्नै कम्पनी चलाएर बसेका साहु नेपालीसम्म भेला हुन्थे । त्यहाँ पैसा पठाउने, चिठीपत्रको आदानप्रदान गर्ने तथा भेट गर्ने गर्दथे । त्यो बेला बिस्मिल्लाह चोकबाटै आफन्तका निम्ति भिसा पठाउने र कतार झिकाउने कार्यहरु सम्झँदा एकादेशको कथा झैँ लाग्छ किनभने त्यो समय बिस्मिल्लाहमा पूर्वको मेची र पश्चिमको महाकालीको अभूतपूर्व मिलन हुन्थ्यो । तराई, पहाड र हिमालका सबै नेपालीहरु एकआपसमा गहन अपनत्वको अनुभवसहित भेटिरहेका हुन्थे ।

मैले देखेको कतारमा चितवनका बाजेको होटल, चितवनेहरु मिलेर खोलेको कतारको पहिलो नेपाली रेस्टुरेन्ट, टाइगर टप रेस्टुरेन्ट, रामेछापका राजेन्द्र श्रेष्ठको सगरमाथा मम चाउमिन, स्याङ्जाका नेपालीले सञ्चालन गरेको हिमालयन रेस्टुरेन्ट, गोर्खाका प्रवीण गुरmङ र काठमाठौँका रमेशबाबु श्रेष्ठको सम्सारा थकाली र कीर्तिपुर पाँगाका डाक्टर देवकाजी डङ्गोल दम्पतीको नेपाली भान्छा घर आदि थिए भने दोहाको पुरानो बस्ती नेसनलभित्र रहेको गुल्मेली साथीहरुको मेहेमान होटलले गरेको मेहमानी स्मरणीय छ । त्यहाँ नेपालीहरु नेपालीपनको स्वादले जिब्रो फट्कार्दै मस्त भइरहेका हुन्थे ।

नेपालीको बाक्लो उपस्थितिलाई लक्षित गरेर केही नेपालीले विभिन्न व्यापार गरिरहेका हुन्थे । दोहामा नेपाली गीत–सङ्गीतका आधिकारिक पसल थिएनन् । यस्तै शुक्रबारे नेपाली बजार मेलामा नेपाली बास्ना भएका सामानहरु बिक्री हुने गथ्र्यो । कसैले नेपाली चुरोट, खैनी तथा सुर्ती बेचिरहेका हुन्थे त कसैले नेपाली पत्रपत्रिका बेचिरहेका हुन्थे । कसैको हातमा चियाको भाँडो हुन्थ्यो त कोही चना–चटपटे घोलिरहेका देखिन्थे । गाउँघरबाट कतार पसेका कसैसँग सम्पर्क गरी मगाइएका विभिन्न किसिमका सामानहरु बेचिरहेका हुन्थे । एकातफी गाउँघरका साथीसङ्गी, आफन्तलगायत अरm नेपाली दाजुभाइसँग भेट हुने र अर्काेतर्फ फुर्सदको समय सदुपयोग हुनुका साथै थोरै भए पनि आम्दानी हुने भएकाले केही नेपालीले यो अवसरको भरपूर प्रयोग गरिरहेका हुन्थे । यसले गर्दा कतार नेपालबाहिरको नेपाल भएको जस्तो आभास हुन्थ्यो ।

कतारका नेपाली चोकहरु नेपालका विभिन्न भागका दुःखी–सुखी नेपालीका कथा सुन्दै अभ्यस्त बनिसकेका हुन्थे । तिनीहरुलाई काठमाडौँको नयाँ बानेश्वर र रत्नपार्कजस्तै नेपालीका कथा सुन्ने बानी परिसकेको थियो । एकै बसाइमा आत्मीय बनेर मनभित्रका पोका फुकाउने हजारौँ नेपाली भेटिन्थे । सबका आ–आफ्ना गुनासा हुन्थे । त्यस्ता गुनासा सुन्ने र सुनाउने काम यिनै ठाउँहरुमा हुन्थ्यो । विदेशी मुदिरले दिएका दुःख र दर्दका कथा हुन्थे । छोराको बोर्डिङ स्कुलको शुल्क नतिरेका र सहरमा श्रीमतीले बस्दै आएको कोठाभाडा नतिरेका पानाहरु खोलिन्थे । यत्रो काम गर्दा पनि देशमा केही नभएको भन्दै राजनीति र नेताका कुरा गर्थे । नेपालबाहिर भए पनि सबै नेपालीहरु नेपालकै सेरोफोरोमा कुरा गरिरहेका हुन्थे मैले देखेको कतारमा ।

कतारमा कार्यरत नेपालीहरु हप्तामा सात दिन व्यस्त हुने गर्छन् । राम्रो कम्पनीको काममा आएका केही सीमित नेपालीबाहेक अधिकांश नेपाली कतारको बाहिरी वातावरणमा घुलमिल हुनैपर्छ । मरmभूमिको विशेषता भनेको गर्मी र जाडो दुवै हो । बालुवाको तातो बाफ सहँदै ५० डिग्रीको तापक्रममा फलाम र सिमेन्टसँग खेल्न त्यति सहज छैन । अझै जाडोको त कुरै नगरौँ । ‘मुटु कमाउने मरूभूमिको जाडो’ भन्ने त नेपाली गीत नै छ नि ।

बिहान सबेरै क्याम्पबाट काम गर्ने ठाउँमा जानुपर्ने हुँदा कमैले खाना बनाउन भ्याउँछन् । कम्पनीको आठ घण्टा र दुई–चार घण्टा ओभरटाइम जोडेर कामबाट फर्कंदा दिन ढल्किसकेको हुन्छ । कुन बेला के खाने हो भन्ने कुराको ठेगान हुँदैन । ड्युटी जाने बेला नै केही न केही खानेकुराको जोहो गर्नुपर्छ । अधिकांश कामदारले बेलुकी ड्युटीबाट फर्किएपछि खाना बनाउँछन् र त्यही खानालाई एउटा भाँडोमा हालेर भोलिपल्ट काममा जाँदा लैजान्छन् ।

सन् १९९४ देखि २००० सम्म धेरै नेपालीहरु कतार प्रवेश गर्दा अधिकांश नेपाली कार्यरत रहेका निजी क्याम्पहरुको अवस्था दयनीय नै थियो भन्नुपर्छ । न पिउने पानीको उचित व्यवस्था थियो न दिनभरिको थकान मेटाउने चिसो एसी । कारण– त्यतिबेला कतार आफैँ ज्यादै सानो थियो । बिस्तारै कतार प्रगति र विकासको मार्गमा बामे सर्दै थियो । समग्रमा भन्नुपर्दा कतारमा कार्यरत अधिकांश नेपालीको जीवनशैली विभिन्न आरोह–अवरोह र दुःखले झेलिँदै आएको थियो । बिहान सबेरै उठ्नु, नित्यकर्म गर्नु र बेलुकी पकाएर टिफिनमा हालेर राखेको बासी खाना बोकेर मालिकको सेवामा लाग्नु अधिकांश नेपालीको दैनिकी रही आएको थियो मैले देखेको कतारमा ।

विदेश पुगेपछि नयाँ जीवन सुरू हुन्छ भन्ने सपना बोकेकाहरुको जीवनमा परदेशी भूमिले कहिल्यै वसन्त दिँदैन । सोचेभन्दा बिलकुलै फरक हुन्छ परदेश । महिनाको एक हजार रियाल मुस्किलले पाउने धेरै नेपाली थिए । अझ त्यसमाथि निर्माण कम्पनीको दुःख । कमाएको आधाजति रकम खानामै खर्च हुन्थ्यो । दिनभरिको घाममा पसिना बगाउनुपर्ने, ठूल्ठूला फलामका पाता उचाल्नुपर्ने । गँैती र बेल्चा चलाउनुपर्ने । दुःखका कहानी भनेर साध्यै छैनन् । गाउँघरमा मेलापात गर्दा दुःख भयो भनी धेरै पैसा कमाउन विदेश पसेकाहरु अप्ठेरोमा थिए । अधिकांश नेपाली कामदार निर्माण व्यवसायको क्षेत्रमा सङ्लग्न हुन्थे ।

कतारको समाजमा पहाडी र मधेसी भनेर यहाँ कुनै विभाजनका रेखा कोरिएका थिएनन् । पूर्वको नेपाली र पश्चिमको नेपाली पनि मिलेर बसेका थिए । मनाङको थकालीको साथी तराईको यादव बन्छ । कम्पनीमा काम गरेर सुखको आभास बढ्दै गएको अवस्थामा पनि गाउँको साहुको चर्को ब्याज सम्झेर रूदै बस्नेहरु पनि प्रशस्तै भेटिन्थे । श्रीमतीका गहना र भात खाने गैरी खेत कहिले बन्धकीबाट मुक्त पार्ने होला भनेर औँला भाँचीभाँची बस्नेहरु पनि प्रशस्तै भेटिन्थे ।

साहुको ऋण तिर्छु भन्दाभन्दै वर्षौं बितिसक्दा पनि घर फर्कने साइत नजुरेकाहरु उत्तिकैै थिए कतारमा । घर–परिवारलाई सम्झँदै दुःख गरेर कमाएको पसिनाको मोलबाट घर–गृहस्थी चलाउनेहरु धेरै थिए । राम्रो कम्पनी नपरेकाहरु र लामो समयदेखि तलब नपाएकाहरु कम्पनी छाडेर दिनगन्ती काम गर्न दौडिरहेका भेटिन्थे । आफ्नो कम्पनी छोडेर धेरै पैसा कमाउने आशामा भागीभागी श्रम गर्नेहरु र ठेगाना नभएकाहरु पनि भेटिन्थे । मादकपदार्थ सेवन गरी झैझगडा गर्नेहरु, जुवा–तासमा रातदिन रम्नेहरु र विदेशी पिरतीमा पागल हुने पागलप्रेमी पनि कतारमा स्वच्छन्द घुमिरहेका हुन्थे भने कतिपय घर जाने दिन गन्दै फिर्ती केन्द्रमा आरामको जिन्दगी बाँचिरहेका हुन्थे ।

कोब्रा ग्याङ र हप्ता उठाउनेहरुको कथा अब एकादेशकै कथाजस्तो लाग्न थालेको छ । तथापि मनमा एक कौतूहल भने छँदै छः– मैले देखेको कतारको भूमिमा दर्जनौँपटक जेल परेका ‘बख्स’ भनेर चिनिने युवा कहाँ होलान् अहिले ?

नेपालको काठमाडौँ र केही प्रमुख सहरमा देखिने मुन्द्रे संस्कृतिको कतार आगमन पनि अनौठो छ । कतारमा विभिन्न सामाजिक, साहित्यिक तथा धार्मिक कार्यक्रममा लाग्ने नेपाली पनि प्रशस्त थिए र छन् । राजनीति झन् चर्को रुपमा हुन्थ्यो । त्यसताकाकै कुरा गर्ने हो भने राजनीतिक आस्थाका कारण नयाँ पुस्ताका नेपालीहरुकोे सम्बन्ध चिसो थियो । एउटाको सम्पन्नताले अर्को नेपालीलाई थिच्छ । एक नेपालीको प्रगतिमा अर्को नेपाली हाँस्न सक्दैन । हराउने र जिताउने खेल, गुट र उपगुटको राजनीति, विभिन्न उपमाका नाममा खोलिने ‘नाम मात्रका सामाजिक सङ्घ–संस्था र नेपालीलाई ठग्ने मानव तस्करको बिगबिगी नै थियो त्यसबेला मैले देखेको कतारमा ।

कतारको कुनै कुनाको पार्कमा बसेर वा कुनै क्याम्प एरियाको भित्री टेबुलमा बसेर नक्कली भिसाको कारोबार गर्नेहरु सुनौला योजना बुनिरहेका हुन्थे । नेपालीलाई बिगार्ने, फसाउने र उनीहरुको बर्बादीमा सन्तोषको सास फेर्नेहरुको अग्रपङ्क्तिमा नेपाली नै हुने गर्थे । कुन कम्पनीमा कति भिसा छन् र आफूलाई कति आउँछ भनेर क्याल्कुलेटरमा हिसाब गरेर समय काट्नेहरु पनि उल्लेख्य सङ्ख्यामा भेटिन्थे नेसनलको भित्री चोकमा । कतारमा सबै नेपालीका क्याम्पमा ‘चम्चागिरी’ शब्द प्रख्यात छ । एउटा नेपालीले क्षणिक स्वार्थका लागि अर्को नेपालीलाई बलिको बोका बनाउने चलन पनि नभएको होइन । त्यो बेला कतारमा सबैभन्दा फस्टाएका र सम्पत्ति कमाएका व्यक्तिहरु नेपाली वैदेशिक रोजगार व्यवसायी र कामदार आपूर्तिकर्ता नै थिए ।

निशुल्क प्राप्त हुने भिसासमेत कमिसन दिएर सजिलै लिन्थे । ७० हजारको टोपी भिरेर आएको बहादुर दोहाको विमानस्थलमा हप्तौँ व्रत बस्ने चलन पनि नभएको होइन । अझै घरको समस्या देखाएर पैसा सापटी माग्ने र दिने बेलामा होहल्ला मच्चाउने र पचाउनेहरु पनि भेटिन्थे । त्यस्ता व्यक्तिहरु आज पनि भेटिन्छन् । आफन्तलाई आजाद भिसा निकाल्न भनेर पैसा पहिल्यै लिनेहरु गायब भइदिँदा कतै भेटिहाल्छु कि भनेर सडकमा भौँतारिएर हिँड्नेहरु पनि केही मात्रामा भेटिन्थे । समग्रमा सबै प्रकारका नेपाली थिए र छन् मैले देखेको कतारमा ।

शुक्रबारको दिउँसोतिर कतारको राजधानी दोहाको बैङ्क स्ट्रिट हमद अल कबिर रोड (ग्रान्ड हमद) नजिकैको खुला चौरमा पुग्दा त्यहाँ नेपालीको भीड देखिन्छ । यहाँ तरबार आकारको एउटा गेट भएकाले नेपाली यो ठाउँलाई ‘तरबार गेट’ भन्छन् । बिदाको दिन यहाँको वातावरणमा नेपाल देखिन्छ, मिनी नेपाल झैँ । कति कामदारलाई कम्पनीको गाडीले नै यहाँ छाडिदिन्छ भने कति आफै आउने–जाने गर्छन् ।
(प्रोफेसर मोहम्मद रमजान अली मियाँले लेख्नु भएको ‘मैले देखेको कतार’ पुस्तकबाट यो अंश लिइएको हो । २७ पुसमा काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सफ्ट लन्च गरिएको यो पुस्तक आगामी एक महिनापछि सार्वजनिक हुदैछ । घोस्ट राइटिङ नेपालले प्रकाशन गर्न लागेको यो पुस्तक नेपाली संस्करणपछि अंग्रेजी र अरबिक भाषामा समेत आउँदै छ । )

शब्द साभारः प्रवास खबर
तस्विर स्रोतः कमल ढकाल/रामजी बागले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here