लामो समयसम्म अनिर्णयको बन्दीमा रहेको रातो मच्छिन्द्रनाथको रथ बिहीबार जनताले स्वतःस्र्फूतरुपमा तान्ने क्रममा प्रहरी र रथ तान्ने स्थानीयबीच झडप भएको छ ।

झडपमा परी प्रहरी, स्थानीय र पत्रकारसहित दर्जनौं घाइते भएका छन् । रथयात्रा चाँडोभन्दा चाँडो टुंग्याउन गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय, ललितपुर महानगरपालिकालाई दबाब दिन सामाजिक सञ्जालमार्फत भेला भएका सयौं जनताले स्वतःस्र्फूतरुपमा रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप निम्तिएको थियो । झडपमा क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

रथयात्राको विषयमा गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकाले महिनौंदेखि आलटाल गर्दै आएकाले चाँडोभन्दा चाँडो रथयात्रा टुंग्याउनका लागि दबाब दिन पुल्चोकमा बोलाइएको आह्वानकर्ता पृथविन्दु महर्जनले जानकारी दिनुभयो । मानिसहरु जम्मा हुन थालेपछि करिब डेढ घण्टा शान्तिपूर्ण प्रदर्शन पनि भएको थियो ।

११ बजे तोकिएको गुठी संस्थानको बैठक दिउँसो १ बजेका लागि सारिएको खबर आएपछि आफूहरुको मनमा चिसो पसेको महर्जनले बताउनुभयो । ‘स्थानीयले रथ तान्न खोजेको थिए । सय मिटर जति तानेपछि झडप भयो।’ –उहाँले भन्नुभयो ।

निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीय र प्रहरीबीच बिहीबार झडप भयो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे भने आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो ।

शुरुमा मानिसहरु डेढ सय जति थिए । एक जना, दुई जना गर्दै भीड बढ्दै गएको थियो । लामो समयदेखि थाती रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्न स्थानीय आफै सडकमा आए भन्ने हल्ला एक कान दुई कान हँुदै मैदान भयो । त्यही हल्लाले जुर्मुराएर स्वतःस्फुर्त पुल्चोकमा भेला हुन थालेको थियो ।

काठमाडौं उपत्यकामा दिनप्रतिदिन संक्रमित थपिँदै गएको अवस्थामा मानिसहरु जम्मा हुनुमा गुठी संस्थान, महानगरपालिका र प्रशासनले स्थानीयको भावनामाथि खेलवाड गरेको आरोप छ । रातो मच्छिच्द्रनाथको रथ निर्माण गर्ने साइत चैत २७ गते परेको थियो ।

तर, कोरोना महामारीका कारण रथ बन्न सकेको थिएन । यसले जात्रा होला कि नहोला भन्ने अन्योल नै थियो । यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउने काम शुरू गर्न अनुमति दियो । सम्बन्धित गुठियारहरू दिनरात रथ बनाउनमा लागे । रथ निर्माण भएपछि विधिपूर्वक जात्रा हुनेमा गुठियार र स्थानीय आशावादी भए । गुठी संस्थानले त्यति बेलै गुठियारहरू भेला गराएर यसपालि जात्रा गर्न सकिँदैन भनेर सरसल्लाह गरेका भए कुनै न कुनै विकल्प निकाल्न सकिन्थ्यो । अहिलेको अवस्था आउने नै थिएन ।

संस्थानले भने स्थानीय र गुठियारलाई विश्वासमा लिनुको साटो पटक–पटक रथयात्राको साइत तोक्ने र पछि सार्ने काम गरिरह्यो । रातो मच्छिन्द्रनाथ भनेको बुंगमतीको बुंगद्यः हो । बुंगद्यःसँग पाटनको मात्र होइन, सिंगो काठमाडौं उपत्यकाकै ठूलो आस्था र विश्वास जोडिएको छ । यसलाई काठमाडौंमा वर्षा गराउने सहकालको देउता मानिन्छ । त्यसैले, मनसुन शुरू हुनुअघि नै सम्पन्न भइसक्नुपर्ने यो जात्रा मनसुन सकिने बेलासम्म शुरू नहुनुले स्थानीय अन्योलमा थिए।

यति मात्र होइन, जात्रा हुने कि नहुने अन्योलबीच रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराउने निर्णय गरियो र, विधिपूर्वक यो कार्य सम्पन्न भयो । त्यसपछि त झन् रथयात्रा हुनेमा स्थानीय ढुक्क भए । तर, यति हुँदा पनि रथयात्रा शुरू गरिएन । बरू रातो मच्छिन्द्रनाथलाई महिनौंदेखि बीच सडकमा अलपत्र छाडियो ।

परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडिँदा गुठियारहरू चिन्तित र आक्रोशित भए । उनीहरूले कोरोना महामारीको जोखिम ख्याल राख्दै सुरक्षा उपाय अपनाएर जसरी पनि जात्रा सम्पन्न गर्न सरकारसँग आग्रह गरे । कर्फ्यू लगाएर कसैलाई घरबाट निस्कन नदिई रथयात्रा चलाउन पनि उनीहरूले प्रस्ताव गरेका थिए ।

यही क्रममा रातो मच्छिन्द्रनाथका मूल पुजारी (पानेजु) कपिलमुनि वज्राचार्यका तर्फबाट कर्फ्यू वा निशेधाज्ञा लगाएर भए पनि जात्रा गराउन राष्ट्रपतिका नाममा लिखित आग्रह पेस गरियो । कसरी सुरक्षित रथयात्रा गराउने भनेर खाकासमेत पेस गरिएको थियो । यसमा ललितपुर महानगरपालिका र प्रशासनले कुनै सुनुवाइ गरेन । रातो मच्छिच्छनाथका मूल पुजारी वज्राचार्य आजको झडपमा सरकारी निकायकै दोष देख्नुहुन्छ ।

‘हामीले कोरोनाको जोखिम हेरेर सुरक्षितरूपमा रथयात्रा सम्पन्न गर्न सरकारलाई पटक–पटक सुझाव दिएका थियौं। संक्रमण फैलिने जोखिम छ भने रथ तान्नेहरूको पीसीआर परीक्षण गराएर जात्रा सञ्चालन गरौं पनि भनेको हो। कर्फ्यू लगाएर अरू कसैलाई आउन नदिऊँ पनि भनेको हो। सरकारले हाम्रो कुनै कुरा सुनेन।’ –उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘रातो मच्छिन्द्रनाथलाई यतिका समय रथमा राखेर हेलचेक्र्याइँ गरियो। हाम्रो आस्था जोडिएको संस्कृति र भगवान्को मामिलामा यस्तो खेलाँची गर्न मिल्छ? पहिले रथ बनाउन लगायो, बुंगद्यःलाई रथमा विराजमान गरायो, अनि पछि जात्रा गर्न दिएन। सरकारको यही कुरा चित्त नबुझेर जनता आक्रोशित हुँदै सडकमा आएका हुन् ।’

‘यस वर्ष असोज २ गतेबाट मलमास शुरू हुँदै छ। मलमास शुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुन्न।’ –मूल पुजारी वज्राचार्यले बताउनुभयो ।

बुंगद्यःलाई मलमासअगाडि नै बुंगमती पु¥याउने उद्देश्यका साथ सयौंको भीड पुल्चोकमा भेला भएको स्थानीयको भनाइ छ ।

यसैबीच झडपमा तीन प्रहरीसहित पत्रकारहरु सुनिता डंगोल, कृर्तन जोशी, निरञ्जन श्रेष्ठ, प्रकाश महर्जनलगायत केही स्थानीयहरु घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here