अनिल पराजुली
10 बैशाख, कतार (22 April 2020)
कतारमा रहेका नेपालीहरुले स्वदेश जाने व्यवस्था मिलाई दिन नेपाली राजदूतावास
दोहा कतारलाई आग्रह गरेका छन् ।

उनीहरुले नेपाली राजदूतावासमा फोन, इमेल, सामाजिक संजाल तथा अन्य बिभिन्न
माध्यम मार्फत स्वदेश जाने व्यवस्था मिलाईदिन आग्रह गरेका हुन् । नेपाली
राजदूतावास दोहा कतारले बिभिन्न माध्यमबाट नेपालीहरुले स्वदेश जाने
व्यवस्था मिलाईदिन आग्रह गरेपछि नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग
निरन्तर समन्वय र सहजीकरण गर्दै आइरहेको दूतावासको आधिकारी पेज मार्फत
जानकारी दिएको छ ।

कम्पनीबाट रिजाइन दिएर बसेका कतिपय नेपालीहरु अहिले समस्यामा छन् ।
उनीहरुसंग अहिले न काम छ न उनीहरु घर जाने अवस्थामा नै छ । नेपालले उडान
रद्द गरेपछि उनीहरु कोठामै बस्न बाध्य भएका छन् । कोरोनाको संक्रमण
पश्चात फोर्स रिजाइनमा परेकाहरु पनि अन्यौलमा छन् । उनीहरुले नेपाल
सरकारसंग दूतावासले समन्वय गरेर चार्टर जहाज मार्फत भएपनि स्वदेश
फर्काउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

स्वदेश गएर परिवारसंग बस्ने चाहना राख्नु स्वभाविक भएपनि अहिलेको यो विषम
परिस्थितिप्रति दूतावास पूर्ण सचेत रहेको उल्लेख गरिएको छ । परिस्थिति
सामान्य भई नेपाल जाने वातावरण नहुन्जेलसम्मका लागि कतारमा रहेका
नेपालीहरुले एक अर्काको मनोबल बढाएर एकजुट भई रहन आग्रह गरिएको छ ।

दूतावासले जो जहाँ छौं त्यही सुरक्षित बस्न आग्रह गरेको छ । कोरोना
संक्रमित भई कतारमा उपचारार्थ रहेका नेपालीहरुको सिध्र स्वास्थ्य लाभको
कामना गर्दै दूतावासले आफु सुरक्षित बस्न र अरुलाई पनि सुरक्षित राख्न
आग्रह गरेको छ ।

कतारमा खाना तथा बसोबास लगायतका समस्याहरुको समाधानका लागि राजदूतावासले
कतारको सम्बन्धित निकाय, रोजगारदाता कम्पनी, गैर आवासीय नेपाली संघ र
अन्य संघ संस्थासँग समन्वय मार्फत सहजीकरण गरिरहेको जानकारी दिएको छ ।
हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here